अमेरिकामा अर्का अफ्रिकी अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने अत्यधिक बल प्रयोगको विरोधमा फेरि प्रदर्शन सुरु भएको छ । एक अश्वेत पुरुष रेशर्ड ब्रुक्सलाई शुक्रवार अबेर राति प्रहरीले गोली हानेर मारेको भिडियो सार्वजनिक भएपछि विरोध सुरु भएको हो ।
घटनाको विरोधमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा निस्केका छन् । जातीय विभेद भएको भन्दै देशका विभिन्न स्थान तथा राजधानी वाशिङ्टन डीसीमा राष्ट्रपति भवन ह्वाइट हाउसनजिक पनि प्रदर्शनकारीहरू भेला भएका छन् । हाउस अफ रेप्रिजेन्टटिभ्समा प्रतिनिधित्व गर्ने एक वरिष्ठ डेमोक्रेट सांसदका अनुसार ब्रुक्सको गतिविधि घातक ढङ्गले बल प्रयोग गर्नुपर्ने किसिमको थिएन ।
एट्लान्टाका नगरप्रमुखले पनि त्यस्तै आशयको अभिव्यक्ति दिएका छन् । एट्लान्टा प्रहरीका प्रमुखले राजीनामा दिएका छन् भने घटनामा संलग्न प्रहरीहरूलाई पदमुक्त गरिएको छ ।
केही साताअघि प्रहरीले आफ्नो नियन्त्रणमा लिने क्रममा मिनीयापलिसमा जोर्ज फ्लोइड नामक व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि एट्लान्टामा पनि जातीय विभेद र प्रहरी बर्बरताविरुद्ध प्रदर्शन चर्किएको थियो । जोर्जा ब्यूरो अफ इन्भेस्टिगेशन्सका अनुसार आफ्नो कारभित्र ब्रुक्स निदाउँदा बाटो छेकिएपछि कसैले प्रहरीलाई फोनबाट सूचना दिएको थियो ।
प्रहरीद्वारा जारी ’बडी क्यामरा’ फूटेजमा अधिकारीहरूले ब्रुक्सको अनुमतिमा उनले मदिरासेवन गरे वा नगरेको जाँच गरिरहेको देखिन्छ ।

प्रतिक्रिया