एउटा मेयरलाई असजिलो छ भने एउटा कर्मचारी बदलिदिन किन यत्रो ‘ईगो’ ?


-नारायण गाउँले ।

सरकारजी ! काठमाडौँ देशको मुटु हो, यसको धड़कन बन्द हुँदा त्यसको असर सिङ्गो देशलाई हुन्छ । तपाईहरूको पद बरु अप्रत्यक्ष निर्वाचित होला तर मेयर पद प्रत्यक्ष निर्वाचित हो । जनअनुमोदित सरकार हो । काठमाडौंको योजना र विकास गर्ने काम मेयरको हो । कर्मचारीको होइन । कर्मचारीले त्यसलाई सहजीकरण गर्ने हो । दुईबीच समन्वय भएन भने कुनै पनि योजना अघि बढ्दैन । सफल हुँदैन । यतिबेला मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच ‘हार्मोनी’ र समन्वय छैन । यो सत्य हो । जसले गर्दा कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । काठमाडौं ठप्प छ । यो कसैको पनि हितमा छैन ।

विधानतः र व्यावहारिक रूपले नै कर्मचारी फेर्न, सरुवा गर्न सकिन्छ । यी अधिकृतजीले अन्यत्र गएर पनि राम्रोसँग काम गर्न मिल्छ तर बालेनको अन्यत्र जाने अप्सन हुँदैन । मेयरको पद सरूवा हुने पद होइन । यी प्रशासकीय अधिकृत एकदम योग्य र सक्षम छन् भने यिनलाई अध्यागमन लैजानुहोस्, कृषि मन्त्रालयमा राखेर देशभर अत्याधुनिक कृषि क्रान्ति गर्नुहोस् तर मेयरलाई नाकमा नत्थी लगाउने उद्देश्यले अप्ठेरो सिर्जना नगर्नुहोस् ।

तपाईंलाई काम गर्न अप्ठेरो हुन्छ भनेर त्यत्रो खर्च गरेर गएका राजदूतलाई एक महिना नहुँदै फिर्ता बोलाउनुहुन्छ । सचिवहरू हेरफेर गर्नुहुन्छ । आफूलाई नचाहिने भए पछि हटाउँदा दर्जनौँ सहसचिब, उपसचिब र सचिब जगेडामा छन् । कतिको काम नै तोकिएको छैन । कसैलाई मुख्यसचिब बनाउन अर्कोलाई नयाँ पद नै सिर्जना गर्नुहुन्छ । कुलमान जस्ता प्रशासकको कुरो छोडम् ।
एउटा मेयरलाई असजिलो छ भने एउटा कर्मचारी बदलिदिन किन यत्रो ईगो र युद्ध चाहियो र ? जागीर नै खाइदिने होइन । बस् अर्को जिम्मेवारी दिने न हो । अझ ठूलो जिम्मेबारी दिनुस् न । महानगर त तपाईं हामी सबैको हो । यो ठप्प हुँदा एमाले या कांग्रेसले के हासिल गर्छन् र ?

बालेनजी नयाँ हुनुहुन्छ, सिक्दै पनि हुनुहुन्छ । तर उहाँले पनि बुझ्न पर्यो, एक्लो मेयरले चाहेर पनि सबै कुरा गर्न सक्दैन । फकाएर, फुलाएर, कूटनीति प्रयोग गरेर, संयमित भएर कहिलेकाहीँ धम्क्याएर भए पनि काम फत्ते गर्न पर्छ । काम ठूलो हो । एउटा अधिकृतले त ब्रेक लगाउन सक्ने रहेछ, सिङ्गो सरकार लागेपछि के गर्न सकिन्छ र । फेरि सरकार प्रत्यक्ष निर्वाचित नहोला, तर जनताबाटै निर्वाचित सांसदको बहुमतले बनेको हो । जनताले राम्रो नराम्रो जे छाने पनि त्यसलाई स्वीकार गरेर सकेसम्म राम्रो गर्दै जाने हो । राम्रै भनेर छानेका होलान्, भोट दिएका होलान् भन्ने सोच्न पर्यो । सबै कुरा एक्लै परिवर्तन गर्न सकिन्न । जनमतले गर्दै जाने हो । अडान, ईगो या स्ट्याटसले विश्वभरका ’फ्यान’को मन जित्न सकिएला तर खेल जित्न कूटनीति र लचकता नै चाहिन्छ । यो कलियुग हो । कलियुगमा सङ्गठन चाहिन्छ । भोलि फाइनल निर्णय गर्ने त जनता छँदै छन् नि !