-डा. गोविन्दशरण उपाध्याय
पछिल्लो समयमा मुस्लिम समुदायको पहिचान आतंकवादी, जिहादी तथा अर्काको धर्म, संस्कार तथा संस्कृतिप्रति निकै असहिष्णुका रूपमा स्थापित हुँदैछ । मुस्लिम–विश्व आतंकवादीको पर्याय बनेको छ र मुस्लिमहरूकै कारण विश्वमा सङ्कट आउने भन्नेहरूको जनमत बढेको छ । एस्तो अवस्थामा एउटा मुस्लिम धर्मगुरू अनवरत रूपमा विश्वको लागि स्थायीब शान्तिको मार्ग निर्माण गर्न क्रियाशील छन् ।
मिर्जा मसरूर अहमद पाकिस्तानी मूलका बेलायती नागरिक हुन् । उनी अहमदिया सम्प्रदायका मुस्लिमहरूका सर्वोच्च गुरू हुन् । अहमदियाहरू उनलाई खलिफा (एकमात्र आधिकारिक धर्मगुरू र ईश्वरका प्रतिनिधि) मान्छन् । इनले लन्दनमा वसेर आफ्नो सम्प्रदायको प्रचारप्रसारका साथै विश्वशान्तिका लागि अनवरत प्रयास गरिरहेका छन् ।
पछिल्लोपटक मैले अहमदले विश्वशान्तिका लागि देश विदेशमा गएर गरेको प्रवचन र लेखहरूको सङ्ग्रह ‘विश्व सङ्कट तथा शान्तिको मार्ग’ भन्ने किताव पढ्ने मौका मिल्यो । निश्चय नै एउटा मुस्लिम धर्मगुरूक रूपमा उनले कुरानमा विश्वशान्तिको स्रोत रहेको दावी गर्नु स्वाभाविक ठान्छु । तर जसरी उनले आफुलाई विश्वशान्तिका पक्षमा उभ्याएका छन्, त्यो एउटा गैर–मुसलमानका लागि आश्चर्यजनक छ ।
मसरुर बोल्छन् ‘अरूको धनसम्पत्तिको डाहा र लालसा संसारमा बढ्दै जानु नै अशान्तिको एउटा कारण हो । छिमेकीलाई उच्छिन्ने होडमा कहिले समाप्त नहुने लालसालाई जन्म दिएको छ । निर्धन र विकाशशील देशहरूलाई तिनको उचित अधिकार र सम्मान प्रदान गर्नका लागि पूर्णप्रयास गर्नुनै विश्वविजय (शान्तिको) सर्वोत्तम मार्ग हो ।’
उपरोक्त भनाई विश्व सङ्कट तथा शान्तिको मार्ग नामक किताबको एउटा अंश हो । निसन्देह, धनि–गरिवको खाडल, विकशित देशहरूले अल्पविकसित र विकासशील देशहरूसंग गर्ने असमान ब्यबहार, छिमेकी प्रतिको असहिष्णु नीति र केही मुस्लिम समुदायमा देखिएको अतिवादी क्रियाकलापले विश्वलाई अशान्त बनाएको छ ।
विश्वमा ७३ वटा मुस्लिम समुदायहरू छन् । इजरायलसंग तिनको धार्मिक तथा राजनैतिक शत्रुता अस्वाभाविक छ । तर पनि यदि एउटा मुस्लिम धर्मगुरूले विश्वशान्तिका खातिर तेहाका प्रधानमन्त्रीलाई पत्र लेख्छ भने निकै साहसको काम हो । अहमदिया धर्मगुरू मिर्जा मसरुर अहमदले इरानका प्रधानमन्त्री समेत पत्र लेखेर शान्तिको लागि प्रयत्न गर्न आग्रह गरेका छन् । मसरुरको यस्तो प्रयत्नबाट म प्रभावित छु ।
मान्छे जति विकसित हुँदै छ, त्यतिनै प्राकृतिक विश्व असुरक्षित हुँदैछ । १५०० हजार अणु, परमाणु र हाइड्रोजन वमहरूको दयामा विश्व कहिलेसम्म सुरक्षित रहने छ, कसैसंग जवाफ छैन । बुद्धिमान मान्छेले आफ्नो मात्र विनाश होइन, विश्वलाई नै ध्वस्त पार्न सक्ने क्षमताको विकास गरेको छ । आफु मर्यो भने विश्वलाई पनि मरुभूमि बनाउने पराक्रम मान्छेले मात्र गर्न सक्छ ।
मान्छेले बनाएका हतियारहरू सामु विश्वका कुनै धर्म, संस्कृति, परम्परा तथा मान्यताहरू निकै निरीह सावित भएका छन् । प्राकृतिक विश्व राजनैतिक मान्छेहरूको दयाकृपामा जीवित छ । मान्छेहरूले आफुलाई विज्ञानका अगाडी समर्पण गरेका छन् । विज्ञानले मान्छेलाई दास बनाएर सुख दिएको छ । सर्पको मुखमा परेको भ्यागुतोले लामखुट्टे छोपेर खुसी भएझैं मान्छेको अवस्था भएको छ । मान्छेको क्रियाकलापले हामी मान्छे मात्र होइन प्रकृति विश्व नै सङ्कट ग्रस्त भएको छ ।
आफ्नै देश पाकिस्तानमा गैरकानुनी र गैर–मुस्लिम भएर निर्वासित जीवन विताइरहेका मिर्जा मसरुर अहमदका लेख र प्रवचनहरूको सङ्ग्रह ‘विश्व सङ्कट तथा शान्तिको मार्ग’ले गैरमुस्लिमहरूले मुस्लिमहरूलाई बुझ्ने दृष्टिकोणमा व्यापक सकारात्मक परिवर्तन गर्छ भने दोस्रो, मुस्लिमहरूमा पनि शान्तिको पक्षमा बोल्ने ठूलो समुदाय रहेको छ, जुन् शान्ति, सद्भाव तथा सहअस्तित्वको गहिरो लालसा छ भन्ने संदेश प्रदान गर्छ । यद्यपि एउटा मुस्लिम धर्मगुरू भएको नाताले कुरानको आधारमा दीगो शान्ति आउँछ भन्ने विश्वासलाई अस्वाभाविक मान्न मिल्दैन । अन्य धर्मका गुरूहरूले पनि आफ्नो धर्मग्रन्थभित्र नै शान्ति पहिल्याउने प्रयत्न गर्थे ।

प्रतिक्रिया