पोर्चुगललाई नेसन्स लिग फुटबलको उपाधि


काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति म्युनिखमा भएको फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समय २–२ को बराबरीपछि नतिजा पेनाल्टीबाट निकाल्दै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जितेको हो । अल्भारो मोराटाको निर्णायक पेनाल्टी प्रहारलाई गोलरक्षक डिएगो कोस्टाले रोकेपछि रुबेन नेभ्सले गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए ।

निर्धारित समयमा पोर्चुगल दुईपटक पछाडि परे पनि बराबरीमा फर्किन सफल भयो। मार्टिन जुबिमेन्डीले २१औँ मिनेटमा गोल गरी स्पेनलाई अग्रता दिलाएका थिए। तर, पाँच मिनेटपछि नुनो मेन्डेसले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफको ४५औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए ।

गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका ओयार्जाबालको यो गोलले स्पेनलाई बलियो अवस्थामा पुर्याएको थियो ।

तर, दोस्रो हाफको ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। निर्धारित समयमा थप गोल नहुँदा खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस र नुनो मेन्डेसले गोल गरे । यसअघि सन् २००४ को युरोमा पोर्चुगलले स्पेनलाई १–० ले हराउँदै प्रतियोगिताबाट बाहिर निकालेको थियो ।