यु-१६ क्रिकेटमा कोशीको फराकिलो जित


कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं दिन कोशीले गण्डकीविरुद्ध १७१ रनको फराकिलो जित हासिल गरेको छ ।

प्रतियोगिताकै कमजोर टोली मानिएको गण्डकीका बलरहरूले शनिबार कालुङचोक मैदानमा भएको खेलमा कमजोर प्रदर्शन गरेपछि कोशीका ब्याटरहरूले त्यसको फाइदा उठाउँदै ५० ओभरमा ९ विकेट गुमाएर २५६ रनको विशाल योगफल बनाए। गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदा कोशीले ५० अतिरिक्त रन प्राप्त गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बलमा नटआउट ६८ रनको उत्कृष्ट पारी खेले। यस्तै, अफनान ताहिर र रविन मण्डलले समान ३९–३९ रन तथा सकुशल श्रेष्ठले ३० रन जोडे।

गण्डकीका लागि शुशील भुसालले १० ओभरमा ३ मेडन र ४६ डट बल फाल्दै ३६ रन दिएर ४ विकेट लिए, जुन खेलमा सबैभन्दा किफायती बलिङ थियो। यस्तै, रिदम पाण्डे र अनिष राउतले समान २–२ विकेट हात पारे ।

कोशीका रविन मण्डलले ब्याटिङमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए भने बलिङमा ७.४ ओभरमा ४ मेडन र ४६ डट बल फाल्दै ५ विकेट लिए।

उनको यो उत्कृष्ट प्रदर्शनका कारण उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए । २५७ रनको लक्ष्य पछ्याएको गण्डकीको ब्याटिङ पनि बलिङजस्तै कमजोर रह्यो। विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

फलस्वरुप, गण्डकी २२.४ ओभरमा मात्र ८५ रन बनाएर अलआउट भयो । जितसँगै कोशीले ४ खेलमा ३ जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता, गण्डकी भने ३ खेलसम्म अंकविहीन रहँदै पुछारमा छ।