यस्तो दिक्दारलाग्दो अवस्थामा कसरी फस्टाउला हाम्रो पर्यटन उद्योग ?


-नारायण गाउँले ।

के तपाईंलाई नेपालको हवाइ टिकट विश्वकै महँगो मध्ये पर्छ भन्ने थाहा छ ? लण्डनबाट दिल्लीसम्मको दुई तर्फी भाड़ा पाँच सय पाउण्डभन्दा सस्तो छ । चार सय पाउण्डमा लण्डनबाट मुम्बई पुगेर आउन सकिन्छ तर नेपालको टिकट हजार पाउण्डभन्दा माथि छ । लण्डनबाट हाम्रो दूरी उस्तै छ । तर भाड़ा डबलभन्दा बढ़ी छ ! नेपाल पुग्न लाग्ने भाड़ाले इण्डिया या थाईल्याण्डको हवाइ टिकट मात्रै होइन, एक हप्ता घुमेर फर्किन पुग्छ ।

लण्डन र दिल्लीको फ्लाइट आठ घण्टाको छ । दिल्ली काठमाडौं जम्मा दुई घण्टाको । तर दिल्ली पुग्न लाग्ने भाडाभन्दा दिल्लीबाट काठमाडौंको कनेक्टिङ् फ्लाइट दोब्बर बढ़ी मूल्यको छ । लण्डनबाट अस्ट्रेलिया जाँदा नेपाल काटेर जान पर्छ । झन्डै दुई दिन आकाशमैं भइन्छ । सबैभन्दा टाढा त्यही होला तर त्यसको भाड़ा पनि नेपाल जानभन्दा सस्तो छ । सिङ्गापुर हामीभन्दा धेरै टाढा हो, तर हाम्रो भन्दा आधा मूल्यमा त्यहाँ पुगिन्छ । थाइल्याण्ड होस् कि हङ्कङ, लण्डनबाट नेपालभन्दा धेरै टाढाका शहरहरू आधा मूल्यमा यात्रा गर्न सकिन्छ ।

सोझो फ्लाइट नभएका कुनै पनि देशबाट नेपालको यात्रा थेग्नै नसकिने गरी महँगो छ । हवाइ टिकटकै कारण धेरैले नेपाल यात्रालाई टार्ने गरेका छन् । यति अस्वाभाविक चर्को भाड़ा तिरे पनि त्यो पैसा नेपाली वायुसेवा कम्पनीले कमाइरहेका भने छैनन् ।
यो युग कनेक्टिभिटीको हो । सहज पहुँचको हो । लगानी होस् या पर्यटन, कनेक्टिभिटी आजको पहिलो शर्त हो । यस्तो दिक्दारलाग्दो अवस्थामा हाम्रो पर्यटन उद्योग कसरी फस्टाउला ? न हाम्रा सड़क सञ्जाल सुरक्षित र सहज छन्, न आन्तरिक हवाइसेवा । आन्तरिक हवाई सेवामा त एउटा अमेरिकी या युरोपियन नागरिकले लूट र विभेदको सामना गर्नुपर्छ । अन्तर्राष्ट्रिय उड़ान लिएर दिल्लीबाट काठमाडौं आउनुभन्दा काठमाडौंबाट चितवन पुग्दा बढी भाडा तिर्नपर्छ ।

यसरी टिकट अत्यधिक महँगो हुनुमा हाम्रो एयरपोर्टमा लाग्ने ट्याक्स अत्यधिक महँगो हुनु, अन्यत्रभन्दा हवाइ इन्धनको मूल्य साह्रै चर्को हुनु, हामी कालोसूचीमा हुनु र विश्वका मुख्य शहरसम्म प्रशस्त कनेक्टिङ् फ्लाइट नहुनु मुख्य कारण हुन् । धेरै पर्यटक भित्राउने र कमाउने भन्ने भन्दा पनि आएजतिबाट टन्न कमाउने भन्ने हाम्रो सोच देखिन्छ ।

यही डबल भाडा पनि धन्न एयर इण्डियाको कनेक्टिभिटी र प्रतिष्पर्धी मूल्यका कारण सम्भव भएको हो । हिजो सुलभ नै मानिने कतार, इमिरेट र इतेहाद जस्ता एयरवेजहरूको भाडा त आकाश छुने खालको छ । जेट एयरवेज भन्ने इण्डियन कम्पनी डुबेपछि यो सेक्टरको मूल्य बढ्न थालेको हो । त्यसले नेपाल र विश्वलाई राम्रो कनेक्ट गरेको थियो ।

हाम्रो गफ फेरि साह्रै ठूलो हुन्छ । चिया पसलमा करोड घटी गफ हुँदैन, सरकारले स्याटेलाइट तल बात मार्दैन । देश बनाउने पनि स्विट्जरल्याण्डभन्दा तल होइन । तर देशको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन, पोखरा र भैरहवालाई सुचारु गरेर कनेक्टिभिटी बढाउन र पर्यटनलाई आकर्षक बनाउन सिन्को भाँच्ने काम कसैले गर्दैन । हिजो शाही नेपाली वायुसेवा हुँदा बरु शानसँग हाम्रो झण्डा लण्डन पुग्थ्यो । आज दुबई उड्ने टिकट काट्यो, उड्छ कि उड्दैन भन्ने अवस्था छ ।

यतिबेला कामचलाउका लागि धेरैले दिल्लीसम्मको टिकट काट्ने र त्यहाँबाट वैकल्पिक मार्ग भएर नेपाल जाने गरेको देखियो । दिल्लीबाट ’सेल्फ ट्रान्सफर’ गर्ने गरी नेपाल वायुसेवा निगम या अन्य छुट्टै हवाइ टिकट काट्दा पनि केही राहत हुन आउने रहेछ । तर पर्यटक या बालबच्चा सहितका लागि यो निकै झन्झटिलो हुन्छ । तत्काल युरोपसम्म उडान गर्न त सकिन्न । तर युरोपसँग राम्रो कनेक्ट भएका हवाइ कम्पनीलाई अलि बढी स्लट दिने, हवाइ इन्धनलाई ठिक्क नाफा लिएर बेच्ने, करलाई समयसान्दर्भिक बनाउने र कालोसूचीबाट हटाउन ठोस पहल गर्ने हो भने केही सुधार हुन्थ्यो कि ? तपाईंको अनुभव र राय के छ ?