अनेरास्ववियुमा ३२ वर्ष उमेरहद लागू गराउने निर्णय सच्याउनुको विकल्प छैन


-नरेश रोकाया ।

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नेपाली समाजमा रहेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका समस्याहरुको पहिचान र समाधानको लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवाद जस्तो नेपाली क्रान्तिको मौलिक सिद्धान्त मार्फत अघि बढिरहेको छ ।हाम्रो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुल्ला समाज, बहुदलीय प्रतिष्पर्धा, निर्वाचित प्रतिनिधिद्वारा शासन प्रणालीको संचालन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको प्रत्याभूति लगायतका विश्वव्यापी मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।हाम्रो पार्टीले आन्तरिक लोकतन्त्रका निम्ति जनवादी केन्द्रियता (पार्टी संचालनको सिद्धान्त) लाई आत्मसात गर्ने गर्दछ, त्यसकारण हाम्रो पार्टी संसारकै सर्वश्रेष्ठ लोकतान्त्रिक कम्युनिस्ट पार्टी रहेको बिषय घाम जस्तै छर्लङ्ग रहेको छ ।
तर
यही जेठ ११ गते बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले (जुन बैठकमा समसामयिक राजनीतिक परिस्थिति बाहेक अरु एजेन्डा थिएन) एजेन्डामै नभएको बिषय अनेरास्ववियुमा उमेर हदबन्दी लगाउने निर्णय पार्टी संचालनको मुलभुत सिद्धान्त विपरीत रहेको छ । त्यसकारण हामीलाई पुर्ण विश्वास रहेको छ, हाम्रो गौरवशाली पार्टीले यो निर्णय तत्काल सच्याउने छ ।

किनकी
खेल शुरु भैईसकेपछि जसरी खेलको नियम परिवर्तन हुँदैन, (यदि भएमा त्यसलाई म्याच फिक्सिङ्ग मानिन्छ र खेल रद्द हुन्छ र दोषीलाई दण्डित गरिन्छ) त्यसैगरी राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समिति र विभिन्न उपसमिति निर्माण भएर महाधिवेशनको सम्मुखमा पुगिसकेपछि एकाएक दुरगामी प्रभाव रहने, संगठनको आन्तरिक जीवन खलबल हुने र विद्यार्थी आन्दोलनको घाँटी रेटिने प्रकारको निर्णय किमार्थ गर्नहुन्न, गर्न मिल्दैन ।

हाम्रो संगठनको आफ्नै विधान छ, सांगठनिक संरचना छ, संचालनको आफ्नै विधि छ, आवश्यक, अत्यावश्यक पुनःसंरचना निर्माणका निम्ति निति तथा विधान महाधिवेशन आयोजना गर्न सार्वभौम अधिकार रहेको छ । विधान अधिबेशन सप्पन्न गर्न नसक्ने विशेष परिस्थिति आएमा राष्ट्रिय महाधिवेशनको बन्द सत्रको हलमा सार्वभौम प्रतिनिधि कमरेडहरुले उमेर हद लगायतका विभिन्न बिषयमा अत्यावश्यक र उत्कृष्ट निर्णय निर्णय गर्न सक्नुहुनेछ ।
तसर्थ
हाम्रो गौरवशाली पार्टीले यस विषयमा पुनर्विचार गर्नेनैछ, सम्पुर्ण शुभचिन्तक महानुभावहरुलाई सान्त र धैर्य रहन विनम्र अनुरोध गर्दछु ।

रोकाया अनेरास्ववियुका महासचिव हुन् ।