काठमाडौं । गत चैत १५ मा यो व्यवस्था उल्ट्याएर राजा फर्काउने भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीले आन्दोलन घोषणा गरेका थिए । उनीहरुले जिल्ला प्रशासनबाट काठमाडौंको तीनकुनेमा सभाका लागि अनुमति लिएका थिए । दुर्गा प्रसाईंले अब नेताहरुलाई डाँडा कटाउने भन्दै अभिव्यक्ति दिँदै हिँडेका थिए । राजावादीहरुको यस्तो हुँकार देखेर प्रधानमन्त्री केपी शर्मा ओली पनि के कम, चैत १३ गते युवा संघले आयोजना गरेको कार्यक्रमममा राजावादीलाई बाघले जस्तै झम्टिन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशन थियो, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’
प्रधानमन्त्रीको यो अभिव्यक्ति चैत १३ को थियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार चैत १५ मा राजावादीले तीनकुनेमा मञ्च बनाएर कार्यक्रम सुरु गर्न राष्ट्रिय गान बजाउन सुरु भएको थियो । राष्ट्रिय गान बज्दै गर्दा मञ्चमा प्रहरीले दर्जनौं सेल अश्रुग्याँस हान्यो । कार्यक्रम विथयोलियो । त्यसपछि गोली चल्यो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो । आगजनी, तोडफोड र लुटपाट भयो । यो घटनामा संलग्न भएको अभियोगमा आइतबार ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । घटनाको न्यायिक छानबिनका लागि माग गरेपनि सरकारले वेवास्ता गरेको छ । घटनामा आयोजक दोषी कि सरकार भन्ने कुरा सार्वजनिक भएका दृष्यबाट पनि स्पष्ट हुन्छ । तर सरकार आफ्नो तर्फबाट कुनै कमजोरी नभएको बताउँदै आएको छ । राष्ट्रिय मानव अधिकार आयोगले यसबारे छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताउँदै आएको छ ।
चैत १५ मा दुर्गा प्रसाईं आयोजक थिए । अहिले फेरि राप्रपा, राप्रपा नेपाललगायतका राजावादी संगठनले जेठ १५ गतेदेखि संयुक्त जनआन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन् । उनीहरुले अहिले जनआन्दोलनलाई सशक्त पार्न घरदैलो र छलफललाई तीव्र बनाएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त प्रधानमन्त्रीलाई नयाँ समझदारीमा आउन नत्र हेलिकप्टरमा भाग्ने आवस्था आउने चेतावनी दिएका छन् ।
राजावादीको तयारी देखेर प्रधानमन्त्री ओली पनि के कम फेरि चैत १३ कै अभिव्यक्ति दोहोर्याएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ । कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने हो । जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएका छन् । यी अक्षता मन्साउने हुन् । ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि यी कता कता दुला पस्छन् ।’
प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा जेठ १५ मा पनि तीनकुने घटना दोहोरिने आँकलन गर्न थालिएको छ । कांग्रेस नेता डा.शेखर कोइरालाले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई नभएको बताएका छन् । कोइराला भन्छन्, ‘देशलाई कानुनसम्मत सञ्चालन गर्ने अभिभारा प्रधानमन्त्रीको हो, उहाँले यसरी नागरिकलाई उत्तेजित बनाउन मिल्दैन, यस्ता गैरजिम्मेवार अभिव्यक्तिले उल्टै राजावादीलाई मलजल पुग्छ ।’ कोइरालाले प्रधानमन्त्रीलाई मुखमा जे आयो त्यही बोल्नुभन्दा पनि संयम भएर देशलाई अघि बढाउनु पर्ने सुझाव दिएका छन् ।
पूर्वप्रशासक शारदाप्रसाद त्रिताल प्रधानमन्त्रीको अभिव्यक्तिले समाजमा आतंक सृजना भएको बताउँछन् । उनको भनाई छ, ‘मुखियाको जिम्मेवारी लिनेले नै समाजमा आतङ्कलाई प्रश्रय दिने गरी जनतालाई उकास्न थालेपछि त्यो समाजको भविष्य कस्तो होला ?’
वरिष्ठ पत्रकार विजयकुमार पाण्डे एमाले कार्यकर्तालाई जेष्ठ १५ गते सडक कब्जा गर्ने आदेश दिइनु प्रधानमन्त्री पदको गरिमा खसाल्ने काम भएको टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘प्रधानमन्त्री पद– प्रमुख कार्यकारीमात्र होइन, संस्था पनि हो । कुनै पनि बहालवाला प्रधानमन्त्री पदमा कायम रहुन्जेल, त्यो संस्थाको मर्यादाको प्रमुख रक्षक पनि हुनुपर्छ । लोकतन्त्रको उच्चतम पदले त्यही अनुपातमा उच्च संयम, नैतिकता र उदारताको माग गर्छ । होइन भने भने, त्यो पदको गरिमा अवमूल्यन हुँदै जान्छ । जसले गर्दा अन्ततः आममानिसका नजरमा समस्त प्रणालीको इज्जत गिर्दै जान्छ । मन्दिरको गरिमा जतिसुकै उच्च भएपनि, पुजारीको आचरणले त्यसको ख्याल गरेन भने–समाजमा संयम, गरिमा र शोभाको उदाहरण बाँकी रहँदैन ।’

प्रतिक्रिया