लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…


काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र समिति सभापति ऋषिकेश पोखरेलबीच भनाभन चलेको छ । बैठकमा मोदीले समिति सत्तापक्ष दलको मात्र भएको र प्रतिपक्षलाई बोल्न प्रतिबन्ध लगाएको आपत्ति जनाएका थिए ।

उनले बैठकमा समितिको सभापति विपक्षीलाई दिन माग गरेका थिए । उनले भने, ‘हामीले बोलेका कुराहरुमा तपाईंहरुले रोक्नुहुन्छ । प्रतिपक्ष दलले बोल्न पाउनुपर्छ । सार्वजनिक लेखा समिति प्रतिपक्षको पनि हुनुपर्यो भन्दा तपाईंहरु हुनुहुँदैन भन्ने ? तपाईहरुको हामी दास हो र ?’

मोदीले भनाई राखेपछि सभापति पोखरेलले आपत्ति जनाउँदै बोल्न प्रतिबन्ध नलगाएको बताए । पोखरेलले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र यस्तो अभिव्यक्ति दिएको आरोप लगाए ।

पोखरेलले भने, ‘गलत व्याख्या नगर्नुहोस् । तपाईले दुई चारजना मान्छे भिडियो खिच्ने लिएर आउनुभएको छ । त्यति हो । हरेक दिन तपाईं किन बोल्नुहुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।’

उनले समितिलाई बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने थलो बनाएको समेत बताए । बुधबारको बैठकमा पनि सांसद मोदीले बोल्दै गर्दा चर्काचर्की भएको थियो । उनले हरेक बैठकमा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने माग गर्दै आएका छन् ।