गाजाको ‘रक्तपात’ अन्त्यका लागि अरब शिखर सम्मेलनको दबाब


बग्दाद । इजरायलले प्यालेस्टिनी भूमिमा विस्तारित सैन्य आक्रमण सुरु गरेपछि बग्दादमा शनिबार भएको शिखर सम्मेलनमा अरब नेताहरूले गाजा युद्धविरामका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र कब्जा गर्ने प्रस्ताव दोहोर्याएपछि अरब लिगका सदस्यराष्ट्रहरूले पनि गाजाको पुनर्निर्माण योजनालाई सहयोग गर्न कोषको माग गरेका छन् ।

अरब नेताहरूले ‘रक्तपात अन्त्य गर्न दबाब दिन र गाजामा आवश्यक पर्ने सबै क्षेत्रमा तत्काल मानवीय सहायता निर्वाध प्रवेश गर्न सकोस् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

उनीहरूले प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनै पनि योजनालाई ‘दृढतापूर्वक’ अस्वीकार गर्ने बताएका छन्।
इजरायली सेनाले प्यालेस्टिनी लडाकू समूह हमासलाई परास्त गर्ने उद्देश्यले गाजा पट्टीमा युद्धको विस्तारको हिस्सा भएको भन्दै गाजामा नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि यो घटना भएको हो ।

शिखर सम्मेलनमा अतिथिका रुपमा उपस्थित स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा भएको नरसंहार रोक्न थप दबाब दिन आग्रह गरेका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा युद्धविरामका लागि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई आवश्यक सबै प्रयास गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले शिखर सम्मेलनमा भने, “हामीलाई अब स्थायी युद्धविरामको आवश्यकता छ।”
गुटेर्रेसले इजरायलले स्थलगत कारबाही विस्तार गर्ने र अन्य धेरै योजना बनाएकोमा आफू चिन्तित बनेको बताएका छन् ।