काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारी ठगी गरी फरार रहेका जीबी राईलाई मलेसियाबाट नेपाल फर्काउन सहयोगका लागि मलेसियाको संसदीय प्रतिनिधिमण्डललाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको मलेसियाका सांसदहरूको प्रतिनिधिमण्डलसँग सांसद थापाले यस्तो आग्रह गरेका हुन् । थापाले भनेका छन्, ‘सहकारीका बचतकर्ताहरूको बचत अपचलन, दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राई सपरिवार “सेकेन्ड होम मलेसिया“ स्किमअन्तर्गत त्यहाँ बसिरहेको हुँदा उनलाई नेपाल पठाउने भुमिका खेलिदिन उहाँहरूसमक्ष विशेष अनुरोध गरेको छु।’
सांसद थापाले आफूले प्रतिनिधिमण्डललाई राईले ८ अर्ब बचत अपचलन र ठगी गरेको तथ्यसमेत जानकारी गराएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘प्रतिनिधिमण्डललाई जीबी राई सहकारीको बचत रकम दुरुपयोग गरी फरार भएर विदेशमा लुकिबसेकामध्ये संसदीय छानविन विशेष समितिले खोजेर देशमा ल्याई कारबाही चलाउन निर्देशन दिएका २९ जनामा पहिलो नम्बरमा नाम रहेको व्यक्ति रहेको र करिब ८ अर्ब बचत अपचलन र ठगी गरेको तथ्यसमेत जानकारी गराइएको छ।’

प्रतिक्रिया