नीति तथा कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता होः सांसद श्रेष्ठ


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संस्कृतिक, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको टिप्पणी गरे।

रास्वपाको संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता र सिद्धान्तविहीन बनेको धारणा राखे ।

‘नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको छ । विद्यमान समस्या समाधान गर्ने विकल्प छैनन्’, उनले भने, ‘यसले आर्थिक मन्दीलाई सम्बोधन गर्न सक्दैन । पूर्वाधार मात्र हैन सेवा पनि विकास हो भन्ने नीति तथा कार्यक्रमले देखाउन सक्नुपर्ने थियो ।’

सांसद श्रेष्ठले नीति तथा कार्यक्रममा युवापुस्ता र भविष्य लक्षित बन्न नसकेको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरे।