जनकपुरमा कांग्रेस कार्यकर्ताद्वारा राप्रपा अध्यक्ष लिङ्देनको पुत्ला दहन


जनकपुरधाम । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले शनिबार धनुषाको लक्ष्मीनिया बजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गर्दै सडकमा आधाघण्टा चक्काजाम गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा लिङ्देनले राजावादी आन्दोलनको सन्दर्भमा कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट र तोडफोड गरेको भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई कांग्रेस कार्यकर्ताहरूले ‘गलत र निराधार’ रहेको भन्दै चक्काजाम सहित धनुषा क्षेत्र नम्बर ४ का अध्यक्ष कुमरकान्त झाको नेतृत्वमा प्रदर्शन गरेका हुन ।

उक्त अभिव्यक्तिको विरोधमा कांग्रेस कार्यकर्ताहरूले केही घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीनिया बजार क्षेत्रमा चक्काजाम गर्दै सरकारसँग लिङ्देनलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष झाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रा सहमहामन्त्री विरूद्ध दिएको झुठो गलत अभिव्यक्तिको विरोधमा सांकेतिक प्रदर्शन गरेको उनले बताए ।