उद्घाटन र आश्वासनको मोह


-नारायण गाउँले ।

देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन सडकको उद्घाटन भयो । घरघरमा ग्यासको पाइप र चुच्चे रेल पनि आउँदै होला । सिङ्गापुर बनाउने कि स्विट्जरल्याण्ड भन्नेमा निर्णय गर्न बाँकी भएकाले अलिकति अलमल मात्रै हो, नत्र यो थरी देश रङ्गीन छ, भव्य छ, आधुनिक छ । प्रतिव्यक्ति आय रूपियाँमा होइन, डलरमा हिसाब हुन्छ । मानवअधिकार, बालशिक्षा या पोषणबारे तारे होटलमा सेमिनार हुन्छ ।

यो प्रसङ्गचाहिँ अर्को थरी देशको हो, जहाँ उद्घाटन गर्न र फोटो खिच्न मिल्ने एउटा लेन पनि पुगेको छैन । त्यसैले उद्घाटन गर्नेहरू पुग्ने कुरो भएन । ती नपुगेपछि तिनको पछि पछि लाग्ने भाषण, आश्वासन, नारा, विकास, समृद्धि, वाद र तथ्याङ्क पनि पुग्ने कुरो भएन । सरकारी गाड़ी पनि नदीमा डोरीले तानेर लैजान पर्ने रहेछ ।

सडक सञ्जालसँग नजोडिएको विकट हुम्लामा देशका धेरै औसत तथ्याङ्क मिल्दैनन् । न औसत आय, न औसत साक्षरता । न औसत स्वास्थ्य न औसत पोषण । न यातायात, न विश्वविद्यालय । न बिजुली, न लोडसेडिङ । न आधुनिक कृषि न बजार । यस्तो दुर्गम र विकट भूगोलमा आम जनजीवन आफैंमा कष्टकर छ, उपेक्षित छ र राष्ट्रिय मूलधारबाट बाहिर छ । अझ त्यसमाथि आँखा नदेख्ने, कान नसुन्ने या बौद्धिक विकलाङ्गता भएका नागरिकको अवस्था कस्तो होला ? गरिबीको चरम पीडामा रहेका अभिभावकले ती ’स्पेशल नीड’ भएका सन्तानलाई कस्तो शिक्षा र पालनपोषण दिन सक्लान् ?

त्यो कष्टको, त्यो सङ्घर्षको र त्यो अँध्यारोको एउटै चित्र कोर्न त सकिन्न । तर एक झल्को हेर्न, महसुस गर्न र अलिकति उज्यालो छर्न इच्छुक हुनुहुन्छ भने र संयोगवश बेलायत वरपर बस्नुहुन्छ भने २१ अप्रिलमा लण्डनमा भेट्न सकिन्छ ।
प्रसङ्ग हो, हुम्लाको सिमकोटमा रहेको बहिरा तथा बौद्धिक दुर्बलता रहेका विद्यार्थीलाई आवासीय रूपमा पढाउने हिमाली बहिरा विद्यालयको । हुम्लामा मात्रै एक हजार बढ़ीमा बहिरोपन रहेको अनुमान रहेछ । यो छुट्टै अनुसन्धान र चासोको विषय होला । तीमध्ये ४६ जना विद्यार्थीलाई छात्रावासमैं राखेर पढाइरहेको एउटा विद्यालयलाई बेलायतमा रहेको एउटा गैरराजनीतिक नेपाली संस्था ‘एनबीसी युके’ले मद्दत गर्दै आएको रहेछ ।

यो मद्दत हिउँ परिरहने र मुटु कपाउने जाडोमा लगाउने न्यानो कपडा, ओढ्ने कम्बल, बिछ्याउने दरी र खाने दालचामलदेखि तरकारीजस्ता बेसिक आवश्यकतापूर्तिका लागि हुँदै आएको रहेछ । सोझै सरकारी स्कुलमा र लक्षित वर्गमा गरिने यस्तो सहयोगको ठूलो प्रभाव र अर्थ हुन्छ । धेरै गर्न त नसकिएला, तर अलिकति स्वास्थ्य, खाना र भवनको स्तर सुधार गर्ने अनि तिनको शैक्षिक गुणस्तर बढाउने हो भने तिनको मनोबल, आत्मसम्मान र बाँच्ने उपाय पनि बढ्थ्यो कि भनेर संस्थाले एउटा च्यारिटी कार्यक्रममार्फत् थप सहयोग सङ्कलन गर्ने उद्देश्य राखेको छ । नयाँ वर्षको सेलिब्रेशन र समाजसेवा एकै ठाउँ जोडिने त्यो कार्यक्रममा तपाईं पनि जोडिनुस् है । अलिकति बुझ्न पनि हुन्छ । तपाईंले नभ्याए तपाईं नजिकको व्यक्तिलाई सूचना दिएर पनि मद्दत गर्न सकिएला । सरकारले पनि सकेको गर्दै छ । हामीले पनि केही गर्न सक्छौं कि ?