१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न


अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ । विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको दरबार ध्वस्त भएको थियो ।

सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गरेका छन् । उनले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई भवन हस्तान्तरण गरे । सहरी विकास मन्त्रालय मातहत दरबार निर्माण भएको हो ।

उपप्रधानमन्त्री सिंहले समग्र अछामको पहिचान बोकेको ऐतिहासिक दरबारलाई सदुपयोग र आउने पिँढिलाई यसको महत्वबारे जानकारी दिनुपर्ने बताए । उनले दरबारको विकास र बाँकी संरचना निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दरबार दुई करोड ४८ लाख रुपैयाँमा पुनःनिर्माण भएको हो । तीन तला रहेको यस दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायतले मन्तव्य राखेका थिए ।