काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बीआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् ।
काठमाडौँमा बुधबार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बीआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बीआरआई नेपालको हितमा रहेको प्रष्ट पारे ।
बीआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बीआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने, “ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।”
उनले बीआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको बताए । दुई छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याउँदै उनले बीआरआईलाई विवादको विषय नबनाउन अनुरोध गरे ।
हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बीआरआईभित्र परेको जानकारी गराउँदै उनले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा भइरहेको विकासले बीआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दाबी गरे ।

प्रतिक्रिया