भियना । संयुक्त राज्य अमेरिकाको समर्थनमा युरोपेली शक्तिहरू बुधबारदेखि सुरु हुने बोर्ड बैठकमा राष्ट्रसङ्घीय आणविक वाचडगसँगको खराब सहयोगका लागि इरानलाई निन्दा गर्ने योजनाको साथ अगाडि बढिरहेको कूटनीतिज्ञहरूले बताएका छन् ।
प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक कार्यक्रमलाई रोक्ने सन् २०१५ को सम्झौतापछि इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) बीच तनाव बारम्बार बढेको छ ।
हालैका वर्षहरूमा तेहरानले आफ्नो आणविक गतिविधिहरू बढाएर, आणविक कार्यक्रमको अनुगमन गर्न निगरानी उपकरणहरू निष्क्रिय गरेर र संयुक्त राष्ट्रसङ्घका निरीषकहरूलाई प्रतिबन्ध लगाएर आइएइएसँगको सहयोग कटौती गरेको छ ।
अमेरिकाको समर्थनमा बेलायत, फ्रान्स र जर्मनीले इरानविरुद्ध नयाँ प्रस्ताव पेस गर्ने योजनाले इरानको आणविक कार्यक्रमको द्रुत विस्तारको चिन्ताले तेहरानले आणविक हतियार विकास गर्न खोजिरहेको हुनसक्ने डर बढाएको छ ।
आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार राज्य हो । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरबाट छोटो कदम हो । इरानले सधैँ आणविक हतियार खोज्ने कुरा अस्वीकार गर्दै आएको छ ।
कूटनीतिज्ञहरूले योजनाबद्ध निन्दा इरानमाथि कूटनीतिक दबाब बढाउन अनुपालनमा फर्कन र आइएइएको लामो समयदेखि रहेको चिन्तालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
– धेरै थोरै ढिलो –
आइएइए बोर्डले जुनमा पनि यस्तै प्रस्ताव पारित गरेको थियो । एएफपीले हेरेको निन्दाको गोपनीय मस्यौदाअनुसार पश्चिमी शक्तिहरूले यस पटक आइएइएका प्रमुख राफेल ग्रोसीद्वारा जारी गरिने ‘विस्तृत प्रतिवेदन’ माग गरेका छन् ।
उक्त प्रतिवेदनले इरानको आणविक गतिविधिहरूमा थप प्रकाश पार्न खोज्नेछ । यसमा अघोषित साइटहरूमा फेला परेका युरेनियम अवशेषहरूमा तेहरानको आइएइएसँगको सहयोगको ‘पूर्ण विवरण’ समावेश छ ।
राष्ट्रपति मसुद पेजेस्कियान र अन्य उच्च पदस्थ अधिकारीहरूसँग वार्ताका लागि ग्रोसीले गत हप्ता तेहरानको भ्रमण गरेपछि मङ्गलबार पेस हुने प्रस्ताव आएको हो ।
आफ्नो भ्रमणका क्रममा ग्रोसीले मध्य इरानमा नातान्ज र फोर्डो युरेनियम संवर्धन प्लान्टहरूको पनि भ्रमण गरेका थिए ।
“ग्रोसीको तेहरान भ्रमण… धेरै थोरै थियो र बोर्डबाट निन्दा गर्न ढिलो भयो”, हतियार नियन्त्रण सङ्घका विज्ञ केल्सी डेभनपोर्टले एएफपीलाई भने ।
उनको भ्रमणले पेजेस्कियानका लागि उनी डि–एस्केलेसनप्रति गम्भीर छन् भनेर देखाउने अवसर गुमाएको डेभेनपोर्टले बताए ।
“इरानको आणविक कार्यक्रमको निरीषण बढाउन र विगतका अघोषित आणविक गतिविधिहरूका बारेमा एजेन्सीको प्रश्नहरूलाई सम्बोधन गर्न ठोस कदम चाल्दा इरान अवैध आणविक गतिविधिहरूमा संलग्न छ भन्ने अनुमानलाई मगर्न सक्थयो”, उनले भने ।
– ट्रम्पको पुनरागमन –
यस हप्ताको सुरुमा इरानले आफ्नो आणविक कार्यक्रममा वार्ता ‘राजनीतिक दबाब र विचारहरूबाट टाढा’ हुने आशा व्यक्त गरेको थियो ।
ग्रोसीसँगको भेटका क्रममा पेजेस्कियानले तेहरान आफ्नो कार्यक्रममा ‘शङ्का र अस्पष्टताहरू’ समाधान गर्न इच्छुक रहेको बताएका थिए ।
ग्रोसीको भ्रमणलाई जनवरीमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको रूपमा फर्कनुअघि कूटनीतिका लागि अन्तिम अवसरको रूपमा हेरिएको थियो ।
सन् २०१७ र २०२१ को बीचमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानविरुद्ध ‘अधिकतम दबाव’ नीति लागू गरे ।
यसमा वासिङ्टनले इरानको आणविक कार्यक्रममा सन् २०१५ मा उनका पूर्ववर्ती बाराक ओबामाको नेतृत्वमा भएको सम्झौता तोडेको थियो।
संयुक्त राज्य अमेरिका, चीन, रसिया, फ्रान्स, जर्मनी र बेलायतसँग भएको ऐतिहासिक सम्झौताले इरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा प्रतिबन्ध राहत प्रदान गर्यो । सम्झौता पुनर्जीवित गर्ने प्रयास अहिलेसम्म असफल भएको छ ।

प्रतिक्रिया