काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर यात्राका लागि नयाँ बाटो बनाएको विरोधमा नेपालीस्थीत भारतीय दूतावास घेराउ गर्न गएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन र घेराउ गर्न गएका विद्यार्थीलाई भूगर्भ विभाग नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो । भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।
त्यसैगरी, भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । त्यसक्रममा १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका गृहमन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।






प्रतिक्रिया