सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा सञ्चालन गर्ने बताएका छन् ।

निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको बुधबार अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापनगरी पूर्ण रूपमा सञ्चालनमा ल्याउनेगरी योजना बनाउने बताए ।

प्रेस उपकरण खरिदमा देखिएको विविध समस्याबारे अख्तियारबाट अनुसन्धान भइरहेको विषयलाई चाँडै टुङ्ग्याई अघि बढ्ने उनले बताए । मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वयगरी चाँडै बजेट व्यवस्थापनमा लाग्ने बताए ।

मन्त्री गुरुङले उक्त प्रेस पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र छाप्नेगरी दोस्रो चरणमा राहदानी र बैंक नोट छाप्नेगरी योजना बनाइने बताए ।