काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणमा परिएको भनिएका पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर मंगलबार बबरमहलस्थित कार्यालय पुगेका थिए ।
मुद्दा दर्ता गर्न अपहरित भनिएका डा. यादव, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पुगेका थिए । तर दुई घण्टा भन्दा बढी समय बसेपनि जाहेरी दर्ता नगरेपछि नेताहरु त्यसै फर्किएका थिए । यसअघि उनीहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन खोजेका थिए । तर, प्रहरीले जोहरी दर्ता गर्न अस्वीकार गर्दै महोत्तरी जान सुझाव दिएको थियो ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । उनीहरुले भने आफूहरुले यादवलाई अपहरण नगरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया