म्यान्मामा बढ्यो यागीको प्रभाव


म्यान्मा । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमाका कैयौँ क्षेत्रमा वृद्धि भएको छ ।

उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ ।

यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । तीमध्ये भियतनाममा मात्र दुई सय ३३ र म्यानमामा ३६ जना रहेका छन् । यद्यपि धेरै मानिस बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपत्का कारण दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।

म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउँदा बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढेर गएको देखाइएको छ ।

भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ ।

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामा समेत सबैभन्दा खराब बाढी आएको थियो ।

 

यसैबीच लाओसको राजधानी भिएन्टाइनसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भिएन्टाइन वरपरका न्यून उचाई भएका क्षेत्रमा आगामी  दिनमा बाढी आउने अनुमान गरेको छ ।