थपलिया ठमेल पर्यटन विकास परिषदको सल्लाहकारमा मनोनित


काठमाडौं । ठमेल पर्यटन विकास परिषदको सल्लाहकार समितिमा डा. रामशरण थपलिया मनोनित भएका छन् । परिषदका पूर्वअध्यक्ष समेत रहेका थपलियाको संयोजकत्वमा तीन सदस्य मनोनित भएका हुन् ।

बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो ।

गत साउन ७ गते सम्पन्न परिषदको बैठकले विगत लामो समयदेखि पर्यटकीय नगरी ठमेल क्षेत्रको विकास सँगसँगै सिंगो मुलुककै पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थपलियालाई प्रमुख सल्लाहकार र पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै आएका गुरुङ र भण्डारीलाई सल्लाहकारको रुपमा मनोनित गर्ने निर्णय गरेको थियो ।

परिषदको विधान २०४७ (पाचौं संशोधन २०७२ सहित) को दफा १६ अनुसार प्रमुख सल्लाहकार र सल्लाहकार मनोनित गरिएको परिषदका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।