कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त रोक्दा भएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुल गर्नुपर्छः सांसद शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीजति झुट बोल्ने मान्छे नेपालमा नभएको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा जान्छु भनेर नगएको भन्दै प्रधानमन्त्रीले झुट बोलेको बताएका हुन् ।

प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण देखाउँदै लाखौं रकम खर्च भइसकेको कार्यक्रममा नजान भनिएकाले त्यहाँ खर्च भएको रकम प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्न समेत उनले माग गरे।

उनले भने, ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे सायद नेपालमा कोही पनि छैन होला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि भन्दै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरू जुम्ला गए। लास्टमा आएर प्रधानमन्त्रीले म आउँदिन दीक्षान्त समारोह पछाडि सार भन्दिनुभो। हुकुमी शासन हो ?’

उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।