काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको वकालत नगर्न माओवादी अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।
२१ औं निजामती सेवा दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धलाई महान भन्न नसकिने बताएका हुन् ।
प्रधानन्त्रीले जनयुद्ध महान थियो भने किन त्यो बाटो छाडेको भन्दै प्रश्नसमेत गरेका छन् । उनले भने, ‘ जनयुद्ध महान थियो भनेको सुन्छु । यदि त्यो महान् थियो किन छोड्या त ? शान्ति प्रक्रियामा किन आएको ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो नि !’
उनले हिंसालाई महिमा मण्डन र प्रशंसा नगर्न आग्रह गरे । प्रधानमन्त्रीले झापा आन्दोलन भने सही नीतिका साथ भएको दाबी गरे ।
कार्यक्रममा प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र प्रशंसनीय रहेको बताए । कर्मचारीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले भने, ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको छ । निजामति प्रशासनले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदानले आन्दोलनहरू सफल भएका छन् ।’

प्रतिक्रिया