युक्रेनको पोक्रोभ्स्कका नागरिकको उद्धार रोकियो


युक्रेनले रूसको सम्भावित आक्रमणको आशङ्काका बीच पूर्वी डोनेट्स्कको पोक्रोभ्स्क शहरबाट भागेर आएका मानिसहरूलाई उद्धार (ओसारपसार) गर्न लागिएको रेल रद्द गरेको छ।

मस्कोको सेना महिनौंदेखि मुख्य व्यवस्थापकीय मार्गमा अगाडि बढिरहेको र शहरको १० किलोमिटर भित्र पुगेको छ भने युक्रेनी अधिकारीहरूले अझै पनि त्यहाँ रहेका २७ हजार मानिसहरूलाई वस्ती छोडेर सुरक्षित स्थलमा जान आग्रह गरेका छन् ।

“सुरक्षा स्थितिको जटिलताका कारण पोक्रोभ्स्क स्टेशन (डोनेट्स्क क्षेत्र) बाट उद्धार रेलको यात्रा रद्द गरिएको छ,” नजिकैको मिर्नोग्राद शहरको प्रशासनले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख छ ।

डोनेट्स्क क्षेत्र खाली गर्ने मानिसहरुका लागि यो रेल १०० किलोमिटर पश्चिममा रहेको पाभ्लोग्राद शहरबाट निप्रो शहर नजिकै प्रस्थान गर्नेछ ।

युक्रेनको राज्यसञ्चालित रेल सेवा उक्राजालिज्नित्स्याले नयाँ ‘सुरक्षा प्रोटोकल’ को कारण दिँदै विशेष दैनिक निकासी रेलहरूको प्रस्थान बिन्दुहरू अबदेखि फरक हुने बताएका छन् ।
पोक्रोभ्स्कबाट सामान्य रेलहरू निरन्तर चलिरहेको बताइएको छ।

युक्रेनी अधिकारीहरू फ्रन्टलाइन नजिकका क्षेत्रहरूमा रेल स्टेसनहरू जस्ता स्थानहरूमा ठूलो संख्यामा नागरिकहरू भेला हुनेबारे सतर्क छन्।

सन् २०२२ को अप्रिलमा डोनेट्स्क क्षेत्रको क्रामात्स्क रेल स्टेसनमा भएको रूसी आक्रमणमा बालबालिकासहित ६० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो भने १६० भन्दा बढी घाइते भएका थिए ।