काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकले वामपन्थीको नाममा तत्काल कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको हो ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीन र चरित्रहीन गतिविधि नचल्ने बताएका थिए ।
प्रधानमन्त्रीले कांग्रेस–एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ। कसैको बैशाखी टेक्दैन ।’
त्यस्तै संविधानमा देखिएका समस्याहरू पुनरावलोकन हुने निष्कर्ष पनि एमालेले निकालेको छ । बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनमाथि ५१ जना सदस्यले राय प्रस्तुत गरेका थिए । उनीहरूले निर्णय कार्यान्वयन गर्न जोड दिएका थिए ।

प्रतिक्रिया