बङ्गलादेशले हसिनालाई फिर्ता गर्न भारतलाई आग्रह गर्ने


पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् । बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताएका हुन् । यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्नसक्ने उनले बताए ।

ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने, “उहाँको विरूद्धमा धेरै मुद्दाहरू छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ । भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन् ।”

बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन् । त्यसपछि बङ्गलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ ।

बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लङ्घनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ‘निकै दुःखी’ रहेको र यसबारे भारतीय राजदूतलाई भेटमा अवगत गराएको वर्तमान् सरकारका विदेशमामिला सल्लाहकार होसेनले बताए ।

होसेनले रोयटर्स टिभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “पूर्वप्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान् सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ। मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु।”

होसेनले सेप्टेम्बरसम्ममा बङ्गलादेशमा निर्वाचनको सम्भावनाबारे समयसीमाबारे जानकारी आउने बताए ।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार बङ्गलादेशको अन्तरिम सरकारले हसिना, उहाँका सल्लाहकार, क्याबिनेटका पूर्व सदस्यहरू र १२ औं राष्ट्रिय संसदका सबै सदस्यहरूको राहदानी रद्द गरेको छ।

बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना पति वा पत्नी र छोराछोरीको कूटनीतिक राहदानी पनि तत्काल प्रभावी हुनेगरी रद्द गरेको ढाका ट्रिब्युनले जनाएको छ।