काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै बन्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । बैठकले माओवादीले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर दिएको आवेगपूर्ण टिप्पणी र प्रतिक्रिया गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्ता आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । गत मंगलबार संसदमा प्रचण्डले नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्नसक्ने चेतावनी दिएका थिए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दै सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारीमा सामान्य छलफल गर्दै आगामी पोलिटव्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले बताए। नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए।

प्रतिक्रिया