काठमाडौं । नेकपा सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोध गर्नुपर्ने बताए ।
‘संविधान संशोधनको विषय कांग्रेस र एमालेबीच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्यो भन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुने छ’, उनले भने ।
उनले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘विद्युत बक्यौता रकमका विषयमा गलत व्याख्या गरेर तपाईंले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई अपमानित गर्नुभएन। सांसदको रेकर्ड झिकाएर सुने हुन्छ। प्रधानमन्त्रीजीले तपाइँले भनेजस्तो बोल्नुभएको छैन। तपाइँले अहिल्यै मैदानमा उत्रिएर आलोचना गर्ने बेला पनि भएको छैन ।’
उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलको हुने भएपनि यसअघिका नजिरका कारण आफूहरूले त्यो पद नछोडेको बताए । उनले प्रमुख प्रतिपक्षी पद नचाहिए जनार्दन शर्मालाई दिन सुझाव दिए ।
उनले भने, ‘संविधान त पढ्नुस् नेता ज्यू । प्रमुख प्रतिपक्षीको पद तपाईंले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन। यो एउटा संवैधानिक पद हो। यो तपाईंलाई पनि दिइएको होइन, तपाईंको दललाई दिएको हो । मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई ।’
उनले सत्ता माग्ने माओवादीको नैतिक अधिकार नभएको बताए । उनले भने, ‘तपाईंसँग सत्ता माग्ने नैतिक आधार पनि छैन । जनाधार पनि छैन। के मुखले माग्नुहुन्छ ? के आधारले माग्नुहुन्छ? कहिले यता कहिले उता गरेर तीनचोटि त समीकरण फेर्नुभयो। तपाईंलाई विश्वास गरेका ठूला दललाई धोका दिनुभयो।’

प्रतिक्रिया