यो सरकार विचौलिया र माफियाको सेवामा लाग्योः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गलत बाटोतिर अग्रसर भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर लागेको आरोप लगाएका हुन् ।

उनले सरकार जनता भन्दा स्वार्थ समूह र माफियाहरुको सेवामा लागेको आरोप लगाए । उनले सरकारमा नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताए ।

उनले भने,‘यो सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ । तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली डेडिकेटेड र ट्रंकलाइनको बक्यौता माफी दिने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो,त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

उनले भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने बताए । विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे ।