हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो हट्यो, अब डराउनुपर्ने अवस्था छैन : प्रचण्ड


काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन सम्भव रहेको बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८ औं भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीटे भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले ६४ को निर्वाचनमा भोट हाल्ने मतदाताको लिष्ट बनाएर घरघरमा जानुपर्ने बताए । उनले भने,‘६४ मा हामीलाई भोट हाल्नेको लिष्ट बनाएर मतदाताको घरघरमा गएर आत्मसमीक्षा गर्नुपर्छ । अनि ६४ मा भोट हाल्ने मतदाताको छोराछोरी कहाँछन् उनीहरुको पनि लिष्ट बनाएर उनीहरुसँग सम्पर्क गर्नुपर्यो र तिनलाई पनि अपील गर्नुपर्यो ।’

अध्यक्ष प्रचण्डले ६४ को हैसियतमा पुगेमा अहिले संख्या देखाएर आफूहरुलाई सत्ता बाहिर पार्नेहरु कहिल्यै सत्तामा नफर्किने बताए । प्रचण्डले माओवादी पार्टी फुटाउने प्रतिक्रियावादीहरुको षड्यन्त्र पूरा नहुने बताए ।

उनले भने, ‘अब हाम्रो पार्टी कसैले फुटाउन सक्दैन । बरु फुटेर गएकाहरु एकजुट भएर भ्रष्टाचारीलाई देखाइन्छ । जनयुद्धका बेला पनि हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले गरेकै हुन् । तर अब सम्भव छैन । किनकी पार्टी छाडेर गएका साथीहरुसँग हाम्रो वार्ता चलिरहेको छ । टेन्सन नलिनुहोला ।’

प्रचण्डले विगतमा जनयुद्ध गर्दाका मिलिसिया र कार्यकर्ता पनि कहाँ छन् खोजी गर्नुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट पारित भएपछि माओवादीलाई ढुक्क भएको बताए । उनले विधेयक पास भएसँगै माओवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको बताए ।

उनले भने, ‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन ।’