संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् ।

जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शुक्रबार गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए ।

‘संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार भएको दाबी गरे । ‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।

शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल भएको बताए ।