काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताका निराशा चिर्न तल्लिन रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका निराशाहरूलाई चिर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।
उनले प्रतिफल नदेखिनेगरी काम गर्ने सुविधा आफू नेतृत्वको सरकारलाई नभएको बताए । उनले भने, ‘जनतामा निराशा नहोस्, आशावादी जागोस् कामना मात्रै गरिरहेको छैन, जनताले या कसैले पनि औंलो ठड्याउने ठाउँ नहोस् हामीलाई कुनै गल्ती गर्ने अथवा कुनै अन्यौल सृजना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै सुविधा छैन।’
उनले गरिबीको रेखामुनि रहेका जनतालाई उठाउने अभिभारा आफ्नो काँधमा आएको बताए। उनले भने,’२१ औ शताब्दीमा हामी गरिबीको दुष्चक्रमा छौं। २० प्रतिशतभन्दा माथि जनता गरिबीको रेखामुनि छन्। यसबाट जनतालाई उठाउनुछ।’
प्रधानमन्त्रीले सरकारमा नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेका र ऐतिहासिक भूमिका पूरा गरेर आएका दलहरू रहेकाले यिनीहरूले मुलुकका लागि ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले संविधान संशोधनलाई प्रतिगमन भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘संविधान संशोधन गर्न नसकिने दस्तावेज होइन। वर्तमान संविधान प्रयोग गर्दै जाँदा जनताका आकांक्षालाई राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सकिन्छ। तर, त्यसलाई गलत प्रचार गरिएको छ। प्रतिगमनतिर लग्यो भनिएको छ। अहिले सरकारमा रहेका दलहरूले नै देशमा डेमोक्रेसी र बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेका छन् ।’
उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई क्षणिक प्रचारबाजी नबनाएको स्पष्ट पारे । उनले भने, ‘भ्रष्टाचारीलाई कानुनसंगत कारबाही गर्नुपर्छ भनेका हौं। भ्रष्टाचारीविरुद्ध कठोररूपमा उत्रिन सम्बन्धित सबै निकायलाई समन्वय गर्न पनि भनेका छौं। यसलाई क्षणिक प्रचारबाजी गरेका छैनौं ।’

प्रतिक्रिया