भारतीय नियामक निकायद्वारा अडानी अनुसन्धानमा पूर्वाग्रहको दाबी अस्वीकार


भारतीय बजार नियामक प्रमुखले अमेरिकी शर्ट–सेलर फन्ड हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई  अस्वीकार गरेका छन् ।

रिसर्चमा विगतको विदेशी लगानीले उनलाई अडानी समूहविरुद्ध कर्पोरेट दुराचारको आरोपहरूको उचित अनुसन्धान गर्नबाट रोकेको हुनसक्ने दाबी गरिएको छ ।

गत वर्ष हिन्डनबर्ग फरेन्सिक वित्तीय अनुसन्धान फर्मको आकस्मिक रिपोर्टपछि बन्दरगाहदेखि लिएर ऊर्जासम्मको विशाल अडानी समूहले आफ्नो बजार मूल्यभन्दा अर्बौं डलर गुमाएको थियो । रिपोर्टमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट धोकाधडीको आरोप लगाइएको थियो ।

विश्वका अर्बपतिहरूको ब्लुमबर्ग इन्डेक्सअनुसार विश्वका १२औँ सबैभन्दा धनी व्यक्ति एवं परिवारद्वारा सञ्चालित समूहका संस्थापक गौतम अडानीले उक्त रिपोर्टमा लगाइएको आरोपलाई अस्वीकार गरेका छन् । उनले शर्ट–सेलर्सको लाभका लागि आफ्नो छवि बिगार्न ‘जानीजानी प्रयास गरिएको’ बताए ।

हिन्डनबर्गले अडानीका ठूलो भाइ विनोदले मरिसस, साइप्रस र धेरै क्यारेबियन टापुलगायत ट्याक्स हेवनमा ‘विदेशी शेल संस्थाहरूको विशाल भुलभुलैयाको व्यवस्थापन’ गरेको दाबी गरेको छ ।

आक्षेप

धोकाधडीको दाबीले समूहको बजार मूल्यबाट एक खर्ब ५० अर्ब डलरभन्दा बढी क्षति गर्यो । साथै भारतको सर्वोच्च अदालतले भारतीय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड (सेबी) सँग आरोपहरूको अनुसन्धान गर्न आग्रह गर्यो ।

हिन्डनबर्गले शनिबार ह्विसलब्लोअर दस्तावेजहरूलाई उद्धृत गर्दै सेबीका अध्यक्ष माधवी पुरी बुच र उहाँका पतिमाथि कथित रूपमा विनोद अडानीले प्रयोग गर्नुभएको विदेशी कोषमा लगानी गरेको आरोप लगायो ।

“अडानी समूहका संदिग्ध विदेशी सेयरहोल्डरहरूविरुद्ध अर्थपूर्ण कारवाही गर्न सेबीले नचाहनुको कारण गौतम अडानीका भाइ विनोद अडानीले प्रयोग गरेको ठ्याक्कै त्यही कोष प्रयोगमा अध्यक्ष माधवी बुचको संलग्नताबाट उत्पन्न हुनसक्छ भन्ने हामीलाई शङ्का छ”, हिन्डनबर्गले भनेको छ, “सेबी आफ्नै अध्यक्षसम्म पुग्नसक्ने मार्गलाई अनुसरण गर्न अनिच्छुक रहेको हुनसक्छ ।”

रिपोर्टमा दम्पतिले सन् २०१५ मा एक कोषमा आफ्नो खाता खोलेको उल्लेख छ । सन् २०१७ मा सेबीमा ‘पूर्णकालीन सदस्य’ का रूपमा बुचको नियुक्ति हुनुभन्दा केही साताअघि उहाँका पतिले खाताको एक मात्र सञ्चालक बन्न अनुरोध गर्नुभएको पनि रिपार्टमा उल्लेख छ ।

पनि सन् २०२२ मा बुचलाई सेबीको अध्यक्षका रूपमा नियुक्त गरिएको थियो ।

बुचले विज्ञप्तिमा आफू र आफ्नो पतिको ‘जीवन र वित्त खुला किताब रहेको’ बताएका छन् । “हामी रिपोर्टमा लगाइएका आधारहीन आरोप र आक्षेपहरूको दृढतापूर्वक खण्डन गर्दछौँ”, उनले भने, “आवश्यकताअनुसार सबै खुलासा विगत केही वर्षमा सेबीलाई प्रस्तुत गरिसकिएको छ ।”

“हामीलाई कुनै पनि र सबै वित्तीय कागजात खुलासा गर्न कुनै हिचकिचाहट छैन, यसमा हामी पूर्णरूपमा निजी नागरिक भएका बेलासँग सम्बन्धित कागजात छन्, कसैले पनि र हरेक अधिकारीले ती कागजात माग्न सक्छन्”, उनले भने ।

अडानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल र आलोचकहरूले उहाँहरूबीचको सम्बन्धले अडानीलाई अनुचित रूपमा व्यापार जित्न र उचित निरीक्षणबाट बच्न सहयोग गरेको बताएका छन् ।