बङ्गलादेशका पूर्वप्रधानमन्त्री जेलबाट रिहा


बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ ।  जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भागेकी छन् ।

दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।

छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।

जिया प्रमुख विपक्षी बङ्गलादेश नेशनल पार्टी (बिएनपी) को अध्यक्ष हुन् । पार्टी प्रवक्ता ए.के.एम वहिदुज्जमानले मङ्गलबार भने, “अब उहाँ रिहा हुनुभएको छ ।”

जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन् ।

दशकौँ लामो झगडा

जिया र हसिनाबीचको दुश्मनीलाई बङ्गलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ । ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो ।

उनीहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उनकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ ।

त्यसबेला जियाका श्रीमान् जियाउर रहमान उपसेना प्रमुख थिए र तीन महिनापछि उनले प्रभावकारीरूपमा सत्ता हातमा लिएका थिए ।

रहमानले गरिबीले ग्रस्त बङ्गलादेशमा निजीकरणका साथ आर्थिक सुधारको प्रारम्भ गरेका थिए तर सन् १९८१ मा अर्को सैन्य विद्रोहमा उनको हत्या गरिएको थियो ।

उक्त समयमा दुई जवान छोराकी ३५ वर्षीया विधवा जियालाई बिएनपीको जिम्मेवारी प्राप्त भयो । आलोचकहरूले राजनीतिकरूपमा अनुभवहीन गृहिणीका रूपमा उहाँको जिम्मेवारीलाई खारेज गरेका थिए ।

जियाले तानाशाह हुसेन मोमम्मद एर्शादविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गरिन् र सन् १९८६ मा नकली निर्वाचनको बहिष्कार गर्दै सडकमा विरोध प्रदर्शन गरिन् ।

उनी र हसिना सन् १९९० मा विरोध प्रदर्शनको लहरमा एर्शादलाई सत्ताच्यूत गर्न एकजुट भए र त्यसपछि  बङ्गलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा उनीहरू आमनेसामने भए ।

जियाले सन् १९९१ देखि सन् १९९६ सम्म निर्वाचन जितिन् र सरकारको नेतृत्व गरिन् । त्यसपछि सन् २००१ देखि सन् २००६ सम्म सत्ता सम्हालिन् । उनी र हसिनाले पटकपटक सत्ताको नेतृत्व गरे ।

आपसी वैमनस्य

सन् २००७ को राजनीतिक सङ्कटका लागि उनीहरूबीचको आपसी वैमनस्यलाई दोषी मानिएको थियो । यसबाट सेनालाई आपतकालीन शासन लागू गर्न र कार्यवाहक सरकार गठन गर्न प्रेरित गरेको थियो । दुवैलाई एक वर्षभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो ।

हसिनाले सन् २००८ डिसेम्बरमा भारी मतका साथ निर्वाचन जितिन् र सोमबार हेलिकप्टरबाट भारत पलायन हुनुअघिसम्म निर्बाध सरकारको नेतृत्व गरिन् ।

उनले बिएनपीका हजारौँ सदस्यलाई पक्राउ गरेर सत्तामाथिको नियन्त्रणलाई बलियो बनाएकी थिइन् । सयौँ मानिस बेपत्तासमेत भए ।

जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो र कारागार पठाइयो । यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गर्यो ।

पछि राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उनलाई घरमै जनरबन्दमा राखिएको थियो ।

छोरा निर्वासनमा

सन् १९९० को दशकको प्रारम्भमा बङ्गलादेशको अर्थतन्त्रलाई उदारीकरण गरेकामा जियाको पहिलो मन्त्रिपरिषद्को प्रशंसा गरिएको थियो । यसबाट दशकौँको वृद्धिलाई बढावा दिएको छ ।

यद्यपि इस्लामवादी–सहयोगी गठबन्धनका प्रमुखका रूपमा उनको दोस्रो कार्यकाल उहाँको सरकार र छोराहरू विरुद्ध भ्रष्टाचारको आरोपले चिनिएको थियो ।