गुगलका अनुसार कोरोनाभाइरस महामारीका कारण इमेलमार्फत् ’फिशिङ्ग हमला’का लहर नै चलेका छन्। अपराधीहरूले यस्ता हमलामा प्रयोगकर्ताहरूबाट उनीहरूको व्यक्तिगत विवरण चुहाउने जुक्ति लगाउँछन् ।
गुगलले अहिले दैनिक लगभग दुई करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरहेको जनाएको छ । पछिल्ला सातामा फर्जी इमेलका पाँच भागको एक भाग कोरोनाभाइरसँग जोडिएका थिए । उक्त कम्पनीका लागि यो भाइरस फिशिङ्ग जोडिएको अहिलेसम्मकै ठूलो विषय बनेको छ । गुगल कम्पनीको जिमेल सुविधा अहिले विश्वका डेढ अर्ब मानिसले प्रयोग गर्छन् ।
अफवाह फैलाउन खोज्नेहरूले जिमेलमा दैनिक एक करोड ८० लाखको सङ्ख्यामा झूटा इमेल पठाउने गरेको प्रविधि कम्पनी गुगलले जनाएको छ । आधिकारिक निकायझैँ लाग्ने ठाउँबाट मानिसहरूलाई अहिले अनेकथरी इमेल आउँछन् । उदाहरणका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विभिन्न सफ्टवेयरहरू डाउनलोड गर्न भन्नेदेखि लिएर हुँदै नभएका कामका लागि चन्दा दिन भन्ने कुरासम्म छन् ।
साइबर अपराधीहरूले सरकारहरूले दिने राहत प्याकेज समेत हात पार्नका लागि सार्वजनिक निकायहरूलाई झुक्याउने नक्कली परिचय खडा गर्ने प्रयासहरू समेत गरेका छन् । गुगलको दाबी अनुसार ’मशिन लर्निङ्ग’को तरिका प्रयोग गरेर ९९.९ प्रतिशतसम्म त्यस्ता फर्जी इमेलहरू रोकिएको छ । अन्य थुप्रै साइबर सुरक्षा कम्पनीहरूले कोरोनाभाइरससँग जोडिएका फिशिङ्ग गतिविधिहरू सामना गरिराखेका छन् ।
बराकुडा नेटवर्क्सले यस महामारीका बेला घृणा फैलाउने फिशिङ्ग इमेलहरूमा ६६७ प्रतिशतले वृद्धि भएको जनाएको छ । अफवाह फैलाउन खोज्नेहरूले झूटा इमेल र एसएमएसहरू बेलायत सरकार, डब्ल्यूएचओ, सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनदेखि लिएर अमेरिकी राष्ट्रपतिसहित त्यहाँका अधिकारहरूले पठाएका भन्ने छन् ।
एक स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ता भन्छन्, “फिशिङ्ग हमलाहरूको एउटा साझा चरित्र केही कुरामा उकास्ने वा भावनात्मक बनाएर धेरै नसोचिकन तत्काल प्रतिक्रिया जनाउन बाध्य पार्ने हुन्छ।“ अनुसन्धानकर्ताहरूले कतिपय घृणा फैलाउने वेबसाइट र स्मार्टफोन एप्सहरू कोरोनाभाइरसबारेका सही सूचना प्रयोग गरेर सञ्चालन गरिएका पाइएका छन् । एउटा त्यस्तो एपले भाइरसको सङ्क्रमणबारे जानकारी दिने बताएको छ, तर उसले फोनमा विभिन्न अवरोध सिर्जना गरेर पैसा तिरेपछि मात्र त्यसलाई पुनः सञ्चालन हुन सक्ने बनाउँछ ।
हालै यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससी र अमेरिकाको होमल्याण्ड सेक्युरिटी मन्त्रालयले संयुक्त रूपमा एउटा सूचना प्रकाशित गरेका छन् । त्यसमा उनीहरूले यस्ता साइबर हमलाका घटनाहरूको बढ्दो क्रम देखिएको भन्दै त्यसले हालको कोभिड । १९ महामारीसँग जुझ्ने उद्देश्यको दुरुपयोग गरेको जनाएका छन् । यस्ता गलत प्रयासहरूको मारमा पर्नबाट जोगिन सहयोग पुग्ने गरी एनसीएससीले आफ्नो वेबसाइटमा एउटा सूचना समेत प्रकाशित गरेको छ । बीबीसीबाट

प्रतिक्रिया