इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमास र हिजबुल्लाहका शीर्ष नेताहरूको हत्याको प्रतिशोधको धम्की आएपछि इजरायल आफ्नो विरुद्ध कुनै पनि ‘आक्रामकता’ का लागि तयार रहेको बताएका छन् ।
“इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ, हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ”, नेतान्याहुले विज्ञप्तिमा भनेका छन्, “जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ।”
हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमान्डर फुआद शुक्रको गरेको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने धम्की दिएपछि नेतान्याहुको उक्त टिप्पणी आएको हो ।
बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
“तपाईंले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन”, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भने, “शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।”

प्रतिक्रिया