खोटाङमा ट्राफिक प्रहरीद्वारा ५० लाख ३२ हजार राजस्व सङ्कलन


खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८०–८१ मा सवारी नियम उल्लङ्घन गरेका ६ हजार सात सय २० जनाबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।

बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, हेलमेट नलगाएको तथा दर्ता नम्बर बिना सवारी साधान चलाउने उपर कारबाही गरेर उक्त रकम सङ्कलन भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा आव २०८०–८१ मा १५ वटा सवारीसाधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका थिए ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारी साधन बिना अनुमति सञ्चालन भइरहेको पाइएको जनाउँदै प्रहरीले त्यस्ता सवारीचालकलाई पनि कानुनको दायरमा ल्याइएको बताएको छ ।