बढ्दो दबाबका बीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक प्रमुखमा नियुक्त गरिएको छ ।
“मैले अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक निर्देशकमा नियुक्त गरेको छु”, गृहमन्त्री अलेजान्ड्रो मेयोर्कासले विज्ञप्तिमा भनेका छन् । सिक्रेट सर्भिसमा २४ वर्षदेखि काम गर्नुभएका रोवे सन् २०२३ अप्रिलदेखि एजेन्सीको उपनिर्देशक हुन् ।
“म यो अविश्वसनीय चुनौतीपूर्ण क्षणमा सिक्रेट सर्भिसको नेतृत्व गर्ने उहाँको इच्छाको कदर गर्दछु । उहाँले जुलाई १३ मा भएको घटनाको अनुसन्धान गर्न सहयोग गर्नुहुनेछ”, मेयोर्कासले भने ।
रोवेको नियुक्ति चिटलको राजीनामाको केही घन्टापछि आएको हो । चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन् ।
जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । उनले मङ्गलबार पदबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया