सुडानी सेनाको कारबाहीमा खार्तुममा एक सयभन्दा बढी अर्धसैनिकको मृत्यु


सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा अपरेशनका क्रममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का एक सयभन्दा बढी लडाकू मारिएका र दर्जनौँ घाइते भएको बताएको छ ।

“शनिबार हाम्रो सेनाले राजधानीमा धेरै गुणात्मक अपरेसनहरू गर्यो र यसमा आरएसएफका लडाकु गाडीहरू पनि ध्वस्त भएका थिए”, एसएएफले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीचको घातक द्वन्द्वमा फसेको छ । यसले हालसम्म कम्तीमा १६ हजार छ सय ५० जनाको ज्यान लिइसकेको छ ।

युएन इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले जुन २५ मा जारी गरेको तथ्याङ्कअनुसार द्वन्द्व सुरु भएदेखि सुडानभित्र ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य करिब २२ लाख सीमा नाघेर छिमेकी देशहरूमा प्रवेश गरेका छन् ।