नाइजेरियामा विद्यालय भवन भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते


 

मध्य नाइजेरियामा एउटा विद्यालय भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ । भग्नावशेषमुनि अन्यले मद्दतका लागि कराएको सुनेको उद्धार एजेन्सी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा परीक्षा दिइरहेका विद्यार्थीहरूमाथि भवन खसेपछि अभिभावकहरूले आफ्ना छोराछोरीहरू खोजिरहेको एएफपी संवाददाताले बताएका छन् ।

“पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको सेन्ट एकेडेमीको दुई तले भवन आज बिहान भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ”, राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले विज्ञप्तिमा भनेको छ ।

नेमा र अन्य महत्त्वपूर्ण सरोकारवालाहरूले हाल खोज र उद्धार कार्य  जारी राखेका छन् ।

घटनास्थलका एक बासिन्दा चिका ओबियोहाले भने, “घटनास्थलमा आठ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । हामीले धेरै मानिसहरूलाई बचाउन सक्छौँ कि भनेर मद्दत गरिरहेका छौँ ।”

विद्यालय के कारणले भत्किएको हो भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन तर पठारमा तीन दिनको भारी वर्षापछि भवन भत्किएको बासिन्दाहरूले बताएका छन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा निर्माण मापदण्डको ढिलो कार्यान्वयन, लापरवाही र कम गुणस्तरको सामग्रीको प्रयोगका कारण भवन भत्किनु सामान्य कुरा हो ।