कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू नै उपस्थित नभएका कारण सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको रहेको भन्दै बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकोले कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराएका थिए ।

अब अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्।