विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार


 

विराटनगर ।  विराटनगर महानगरपालिकाले पुँजीगत खर्चमा सुधार भएको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत पुँजीगत खर्च गरेकामा चालु आर्थिक वर्षमा थप १५ प्रतिशत सुधार गर्दै ६५ प्रतिशत खर्च गरिएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ एक अर्ब ६७ करोड ५१ लाख विनियोजन गरेकामा  एक अर्ब आठ करोड ९१ लाख खर्च गरिएको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको उनको भनाइ छ ।

“सबैको साथ र सहयोगबाट पुँजीगत खर्च बढेको हो । आगामी आर्थिक वर्षमा यसमा अझै सुधार गर्ने दृढताका साथ हामीले काम गर्छौ”, महानगर प्रमुख कोइरालाले भने  ।

चालुतर्फ  एक अर्ब ६३ करोड विनियोजन गरिएकामा  एक अर्ब ३८ करोड ३७ हजार खर्च गरी ८४ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

महानगरले वित्तीय व्यवस्थापनतर्फ  पाँच करोड विनियोजन गरेकामा चार करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा कूल ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत वर्ष ६४ प्रतिशत मात्र खर्च गरिएको थियो ।

महानगर लेखा शाखा प्रमुख सञ्जीव भट्टराईले  तीन अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकामा  दुई अर्ब  अर्ब ५२ करोड एक लाख खर्च गरिएको बताउनुभयो । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि  तीन अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।