डा. गोविन्दशरण उपाध्याय ।
ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१–९०) र महेश योगीका रूपमा प्रसिद्ध महेश प्रसाद (१९१८–२००८) दुवैको जन्म भारतमा भएको हो र दूवैले दर्शनशास्त्र उच्चशिक्षा प्राप्त गरेका हुन् । ओशो अल्पजीवि रहे भने महेश योगी नौ दशकसम्म रहेर वैदिक संस्कृतिको प्रभाव विस्तार गरे ।
आफ्नो जीवनको अन्त्यमा ओशोका नाममा प्रसिद्ध रजनीश निकै तार्किक तथा शब्दहरूका माध्यमबाटबाट भावको प्रयोग गरेर बुद्धिमा मोहनी लगाउन सक्ने अराजक अभियन्ता हुन् । अनुयायीहरूले धर्मगुरू माने पनि उनी स्वच्छन्दतावादी जीवन दर्शनका उत्प्रेरक हुन् । उनको प्रबचन सुन्ने, उनका किताव पढ्नेहरूलाई उनको तार्किकताले तर्कविहिन बनाउने सामर्थ्य राख्छ । रजनीशले वैदिक समग्रतावादी दार्शनिक चिन्तनलाई व्यक्तिगत आनन्दवादमा रुपान्तरित गरेका छन् भन्न मिल्छ । रजनीश जति आकर्षक छन् त्यतिनै तिनका आलोचक पनि छन् तर उनले निर्भिक भएर आफ्नो विचार र जीवनशैली छोडेका छैनन् ।
अर्कोतिर भौतिकिमा स्नातक गरेर पुनः दर्शनशास्त्रमा वैदिक दर्शनमा भिजेका महर्षि महेश योगीले स्वामी विवेकानन्दको शैलीमा भारतवर्षको चिनारी वेदबाट स्थापित हुन्छ भन्ने विश्वासका साथ विश्वभरी वैदिक केन्द्रहरूको स्थापना गरे । वैदिक ग्रन्थहरूको वैश्विक पटल निर्माण गरे र राजा रामको “रामराज्य“को पुनः स्थापना गर्दै राजा रामको प्रतिनिधिका रूपमा राजा पनि उभ्याएका छन् । रजनीशले पनि पूर्वीय सम्पदाको प्रचारप्रसार गरेका हुन् ।
ओशो विद्रोही विचारक हुन् भने महेश योगी पूर्णतया वैदिक जीवन दर्शन र संस्कृतिको पुनस्थापना, संरक्षण र वैदिक विश्वको स्थापना गर्न अभियान चलाउने अभियन्ता हुन् । नेपालमा ओशो र योगी दूवैका अनुयायीहरू प्रसस्त छन् । ओशो वैदिक संस्कृति विरुद्धको विद्रोह हो भने महर्षि महेश योगी वैदिक संस्कृतिप्रतिको विनम्र समर्पण हो । ओशोको अभियान गन्तव्यहीन छ भने महर्षि महेश योगीको लक्ष धर्म, अर्थ, काम तथा मोक्षको प्राप्ति हो । ओशो विदोह र स्वछन्दताको उन्माद हो भने महर्षि महेश योगी मोक्ष प्राप्तिको वैदिक यात्रा हो । महेश योगी विनम्रहरूको विश्रामस्थल हो भने ओशो मधुमत्ताहरूको नृत्यस्थल हो …………मलाई लाग्छ ।
मलाई गज्जव लाग्छ, यी दूवै व्यक्तित्वहरू दर्शनशास्त्रका उत्पादन हुन् र दूवै युगजयी नेताहरूले नेपाललाई आफ्नो साधनाको प्रमुख थलो बनाउन खोजे तर दूवै असफल रहे तर नेपाल र नेपालीप्रतिको दृष्टिकोण सधैं सकारात्मक रह्यो । महर्षि महेश योगीको पुरुषार्थमा नेपालभरि अनेकौं गुरूकुलहरू, यज्ञस्थलहरू संचालित छन् भने ओशोका शिष्यहरूले ओशोका विचारहरूका आधारमा आफै गुरु बनेर ओशोशिक्षा दिंदैछन्, ओशोको बाक्चातुर्य आफुमा प्रतिविम्बित गर्ने प्रयत्नशील छन्, प्रकारान्तरले वैदिक साधना कै अभ्यास गर्दैछन् ।

प्रतिक्रिया