प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पु-याउने विश्वास व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिने बताए । चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ ।
उनले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने बताए ।
उनले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै मुलुकको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति विद्या भण्डारीको मैंत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया