संसद चटक देखाउने ठाउँ होइन, गृहमन्त्रीको अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्छः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैककमा कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

उनले सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए । उनले सहकारी बचत अपलचलनमा आफूमाथि उठेको प्रश्न छल्नलाई ‘संसदले विदेशीलाई सूचना बेच्छन’ भन्ने गैर जिम्मेवार आरोप लगाएको भन्दै त्यसको सत्यता पुष्टि गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीले त्यसबारे जवाफ नदिए प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन । यो पटक सदनमा छिर्याउने कोसिस गरियो । विषयवस्तुबाट बरालिएर अर्कोतिर लैजानको लागि सदनको मन्त्रीले गरेको कार्य डरलाग्दो छ । पछि पनि हुनसक्छ ।’

उनले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने र त्यसको जवाफ दिनुपर्ने बताए । उनले भने, ‘गृहमन्त्री बरालिनुभयो भनेर हामी बरालिनुहुन्न । हिसाबकिताब त लिनैपर्छ । गृहमन्त्रीसँग लिएर भएन । हिसाबकिताब त अब प्रधानमन्त्रीसँग लिने हो । व्यक्तिगत कुरा होइन । कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस् ।’

उनले संसद चटक देखाउने ठाउँ नभएको बताए । उनले भने, ‘सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ । सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ । अब हामी चुप लागेर बसेर हुँदैन ।’

विगतमा कयौंपटक सत्तासँग लडेर आएको भन्दै महामन्त्री थापाले सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने राम्ररी थाहा भएको बताए । उनले भने, ‘गणतन्त्रको नारा लगाउँदा एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । ’आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो !’

थापाले सहकारी प्रकरणमा एमालेको स्ट्याण्ड र सरकारको काम कांग्रेसले केही समय चुपचाप हेर्ने बताए । उनले कांग्रेसले सदन अवरोध गरेका दिनको आफूहरु सरकारका काममा सघाएर क्षतिपूर्ति दिन तयार रहेको बताए ।