अमेरिकाले फेरि पनि दिएन सन्दीपलाई भिसा


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तरवार्ता दिन गएका थिए ।

तर उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । भिसा नपाएसँगै अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेटमा उनी समावेश नहुने पक्का भएको छ । यसअघि पनि उनले भिसा पाएका थिएनन् ।

त्यसपछि भिसाका लागि परराष्ट्र मन्त्रालयले नै पहल गरेको थियो । तर पनि उनलाई दूतावासले भिसा दिएन । यसअघि भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

त्यसपछि उनका समर्थकले बुधबार काठमाडौंमा दूतावासलाई दवाव दिन प्रदर्शनसमेत गरेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई दाषी ठहर गरेकोमा उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो ।