राप्रपाले भन्यो-कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्छ, गृहमन्त्रीमाथि छानबिन होस्


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि छानबिन गर्न माग गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन सर्वसाधारण र मन्त्रीलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो ।

त्यस्तै बैठकले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष केलाश सिरोहियामाथि बदलाको भावले नभई निष्पक्ष न्यायिक छानबिन गर्न माग गरेको छ ।

उसले भनेको छ, ‘कान्तिपुर मिडिया ग्रुका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’