फोहरमैला सङ्कटसँग जुध्न विश्वव्यापी कदम चाल्न राष्ट्रसङ्घ महासचिवको आह्वान


फोहरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि एक भिडियो सन्देश जारी गर्दै महासचिव गुटेर्रेसले पृथ्वीको खतरनाक अवस्थाबारे आफ्नो राय व्यक्त गरेका हुन् ।

उनले मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको उल्लेख गरेका छन् ।

हरेक वर्ष ‘दुई अर्ब टनभन्दा बढी ठोस फोहोर’ नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यको लागि विनाशकारी छ । उनले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै उनले मानव गतिविधिमा हस्तक्षेपको खाँचो रहेको बताए ।