बेलारुसकी प्रथम महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्काया बोकेको रसियाली सोयुज अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)का लागि सफलतापूर्वक प्रस्थान गरेको मस्कोको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
सोयुजले काजकिस्तानको बायकोनुरबाट उडान भरेको र योजनाअनुसार कक्षमा पुगेको रोस्कोसमोसको विज्ञप्तिमा जनाइएको छ । अनुभवी रुसी अन्तरिक्ष यात्री ओलेग नोभित्स्की, संयुक्त राज्य अमेरिकाका ट्रेसी डाइसन र ३३ वर्षीया मारिना भासिलिभस्काया बोकेको सोयुज एमएस–२५ यान शनिबार बिना कुनै समस्या बायकोनुर अन्तरिक्ष बन्दरगाहबाट उडान भरेको थियो ।
पछिल्लो दुई वर्षमा मस्को र वासिङ्टनबीचको सम्बन्ध पूर्णरूपले बिग्रिएपछि अन्तरिक्ष अमेरिका–रुस साझेदारीको अन्तिम क्षेत्र हो । यद्यपि रुसले आफ्नो छुट्टै अन्तरिक्ष स्टेसन बनाउने योजना रहेको बताएको छ । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने भने पनि हालको अवस्थामा सन् २०२८ सम्म सहभागी रहने भएको छ ।

प्रतिक्रिया